दार्चुला : नेपाल–भारत सीमामा चिनी, मिश्री र केरा ल्याउन पूर्णरुपमा रोक लागेको छ । नेपालले भारतीय केरामा प्रतिबन्द लगाउँदा भारतले पनि मिश्री र चिनी निर्यातमा रोक लगाएको छ । सीमावर्ती नेपालका स्थानीयहरु भारतीय बजारमा निर्भर छन् । भारतले अहिले चिनी र मिश्रीमा रोक लगाउँदा स्थानीयहरु महंगीको मारमा परेका छन् ।
सीमाबाट अहिले चिनी र मिश्री ल्याउन प्रतिवन्द रहेको उपभोक्ताहरुले बताएका छन् । यस्तै भारतीय केरा पनि नेपाली बजार र उपभोक्ताले उपभोग गर्न पाएका छैनन् । भारतीय केरा नेपाली बजारमा दर्जनको १२० रुपैयाँमा सर्वत्र उपलब्ध हुने गरेकोमा अहिले रोक लाग्दा दार्चुला बजारमा केराको उपलब्धता छैन् । केहि ठाउँमा खुद्रा व्यापारीले केरा बिक्री गरिरहेका छन् । अहिले उक्त केरा दर्जनको १८० रुपैयाँदेखि २०० रुपैयाँसम्म किनमेल भइरहेको छ ।
फलफूल तथा तरकारी पसलका व्यापारीहरुले पनि आयातमा लगाइएको रोकका कारण बजारमा केराको चरम अभाव भएको बताएका छन् । बजारमा केराको चरम अभाव देखिएसँगै मूल्य पनि अस्वभाविक बढ्ने देखिएको छ । नेपालले नेपाली केरा उद्योगलाई प्रवद्र्धन गर्नकै लागि आयात बन्द गरिएको बताएको छ ।
यस्तै भारतीय बजारमा निर्भर यहाँका उपभोक्ताले सीमावर्ती बजारबाट चिनी ४५ देखि ४८ भारतीय रुपैयाँमा किन्ने गर्थे । नेपाली बजारमा चिनीको मूल्य ९० देखि १०० रुपैयाँसम्म कायम थियो । भारतले चिनीजन्य सामग्रीमा रोक लगाएपछि नेपाली बजारमा मूल्यवृद्धि भएको छ ।
भारतले देशभित्र चिनीको उपलब्धता कायम राख्न र मूल्य नियन्त्रणमा राख्ने उद्देश्यले चिनीजन्य सामग्रीको निर्यातमा रोक लगाएकोे जनाएको छ । यसैबीच सय रुपैयाँमा भन्सार लाग्ने नियमले पनि अहिले सीमावर्ती क्षेत्रमा सास्ती बढेको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?

