बाल संरक्षण तथा बाल अधिकार सम्बन्धी ५ दिने ‘टीओटी’ तालिम सम्पन्न

बाल संरक्षण तथा बाल अधिकार सम्बन्धी ५ दिने ‘टीओटी’ तालिम सम्पन्न

दार्चुला : गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा सामुदायिक ग्रामीण विकास समाज नेपाल, दार्चुलाको सहजीकरणमा दार्चुलामा बाल संरक्षण र बाल अधिकार सम्बन्धी पाँच दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । अवसर परियोजनाअन्तर्गत आयोजित ‘Training for Teachers on Child Protection and Child Rights for Safe and Inclusive Learning Environment’ विषयक ५ दिने प्रशिक्षक प्रशिक्षण (Training of Trainers (ToT) तालिम आइतवार सम्पन्न भएको हो ।

असार २४ गतेदेखि सञ्चालन भएको तालिममा दुहुँ गाउँपालिकाका ५ वटै माध्यमिक विद्यालय तथा मालिकार्जुन गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालय गरी जम्मा १६ वटा माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षक शिक्षिकाहरूको सहभागिता रहेको थियो । तालिममा कुल २१ जना सहभागी मध्ये ६ जना महिला र १५ जना पुरुष सहभागी थिए ।
पाँच दिनसम्म चलेको तालिममा बाल अधिकार, बाल संरक्षण, सुरक्षित तथा समावेशी सिकाइ वातावरण, बालमैत्री विद्यालय, विद्यालयस्तरीय बाल संरक्षण संयन्त्र, बाल संरक्षणसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था, बालमैत्री शिक्षण सिकाइ प्रक्रिया, बाल संरक्षणमा शिक्षकको भूमिका, मनोसामाजिक सहयोग, बाल दुव्र्यवहार तथा बाल विवाह रोकथाम, केस व्यवस्थापन, रेफरल प्रणाली तथा प्रशिक्षक सहजीकरण सीप लगायतका विषयमा सहभागितामूलक तथा व्यावहारिक अभ्यासमार्फत प्रशिक्षण प्रदान गरिएको छ । तालिमको मुख्य सहजीकरण तोय प्रसाद आम्मैले गर्नुभएको थियो ।
सहभागीहरूले समूह छलफल, भूमिका निर्वाह, केस स्टडी, भीडिओ प्रस्तुति, प्रस्तुतीकरण तथा कार्ययोजना निर्माण जस्ता विधिबाट सक्रिय सहभागिता जनाएका थिए ।

तालिमले विद्यालयलाई बालमैत्री, सुरक्षित तथा समावेशी सिकाइ वातावरण निर्माण गर्न शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुगेको सहभागीहरूले बताएका छन् । प्रशिक्षण पश्चात् तालिममा सहभागी प्रत्येक विद्यालयका प्रशिक्षित शिक्षकहरूले आफ्ना विद्यालयमा रहेका सम्पूर्ण शिक्षक–शिक्षिकाका लागि २ दिने विद्यालयस्तरीय तालिम सञ्चालन गर्नेछन् । यसबाट १६ वटै माध्यमिक विद्यालयमा बाल संरक्षण तथा बाल अधिकार सम्बन्धी ज्ञान, सीप र व्यवहारलाई संस्थागत गर्दै सुरक्षित तथा समावेशी विद्यालय वातावरण निर्माणमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रमको समापनमा आयोजक संस्थाले सहभागी शिक्षकहरूको सक्रिय सहभागिता, मुख्य सहजकर्ताको उत्कृष्ट सहजीकरण तथा सहयोगी सबै सरोकारवालाहरुप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि विद्यालयमा बाल अधिकारको संरक्षण, बालमैत्री वातावरण निर्माण तथा बाल संरक्षण प्रणालीलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *