माछापुच्छ्रे बैंकद्वारा मालिकार्जुन माविलाई कम्प्युटर र प्रिन्टर सहयोग

माछापुच्छ्रे बैंकद्वारा मालिकार्जुन माविलाई कम्प्युटर र प्रिन्टर सहयोग

दार्चुला : माछापुच्छ्रे बैंक लिमिटेड, शाखा कार्यालय खलंगाले महाकाली नगरपालिका-७ स्थित मालिकार्जुन मावि धापलाई कम्प्युटर डेस्कटप र प्रिन्टर हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दार्चुलास्थित धापलाई ५ थान डेस्कटप कम्प्युटर र १ थान प्रिन्टर सहयोग गरेको हो ।

मालिकार्जुन मावि धापका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण सिंह रैखोलाको अध्यक्षता तथा माछापुच्छ्रे बैंक लिमिटेड, शाखा कार्यालय खलंगाका शाखा प्रबन्धक नरेन्द्र प्रसाद भट्टको प्रमुख आतिथ्यतामा मङ्गलवार एक कार्यक्रमका बीच विद्यालयलाई सामग्री हस्तान्तरण गरिएको हो । उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुन्द्र सिंह बुढाथोकी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–शिक्षिका, बैंकका कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै शाखा प्रबन्धक नरेन्द्र प्रसाद भट्टले माछापुच्छ्रे बैंकले उत्कृष्ट बैंकिङ सेवासँगै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा सामुदायिक विकासका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निरन्तर योगदान दिँदै आएको बताए। शिक्षा राष्ट्रको समृद्धिको आधार भएको उल्लेख गर्दै डिजिटल युगको आवश्यकताअनुरूप विद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रविधिमा पहुँच विस्तार गर्ने उद्देश्यले कम्प्युटर तथा प्रिन्टर सहयोग गरिएको जानकारी दिए ।

उनले संस्थागत सामाजिक उत्तरदायित्व बैंकका लागि केवल औपचारिक कार्यक्रम नभई समाजप्रतिको उत्तरदायित्व र दिगो विकासप्रतिको प्रतिबद्धताको अभिव्यक्ति भएको पनि औल्याए ।

समुदायसँगको सहकार्य, शिक्षामा लगानी तथा प्रविधिमैत्री सिकाइ वातावरणको विकासमार्फत सक्षम, प्रतिस्पर्धी र जिम्मेवार नागरिक निर्माणमा बैंकले निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
कार्यक्रमका अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण सिंह रैखोलाले विद्यालयको शैक्षिक विकासमा महत्वपूर्ण सहयोग पुर्‍याएको भन्दै माछापुच्छ्रे बैंकप्रति आभार प्रकट गरे ।

उनले प्राप्त कम्प्युटर तथा प्रिन्टरको प्रभावकारी उपयोग गरी विद्यार्थीहरूको सूचना प्रविधिसम्बन्धी ज्ञान, सीप र व्यावहारिक सिकाइलाई थप सुदृढ बनाइने विश्वास व्यक्त गरे ।

यस्तै विद्यालयका प्रधानाध्यापक सुन्द्र सिंह बुढाथोकीले बैंकको सहयोगले विद्यालयमा कम्प्युटर शिक्षाको गुणस्तर अभिवृद्धि हुनुका साथै विद्यार्थीहरूको डिजिटल साक्षरता विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै माछापुच्छ्रे बैंक लिमिटेडप्रति धन्यवाद ज्ञापन गरे ।

माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत देशका विभिन्न स्थानमा शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएको छ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *