धापमा गौरा पर्व व्यवस्थापन समिति गठन, मदिरा सेवन र बिक्री–वितरणमा रोक

धापमा गौरा पर्व व्यवस्थापन समिति गठन, मदिरा सेवन र बिक्री–वितरणमा रोक

दार्चुला : महाकाली नगरपालिका–७ धापमा गौरा पर्वलाई सभ्य, भव्य तथा व्यवस्थित रूपमा सञ्चालन गर्न गौरा पर्व व्यवस्थापन समिति गठन गरिएको छ। वडाका कार्यवाहक अध्यक्ष नन्दा देवी कोलीको अध्यक्षतामा समिति गठन गरिएको हो ।

समितिले गौरा पर्वका क्रममा मदिरा सेवन गरी हो–हल्ला गर्ने तथा पर्वको शान्ति–व्यवस्था भंग गर्ने व्यक्तिलाई जरिवाना गर्ने निर्णय गरेको छ। समितिको निर्णयअनुसार मदिरा सेवन गरी हो–हल्ला गर्ने व्यक्तिलाई पहिलो पटक रु. १ हजार, दोस्रो पटक रु. २ हजार र तेस्रो पटक रु. ३ हजार जरिवाना गरिनेछ।

त्यस्तै, मदिरा बिक्री–वितरण गर्ने व्यक्तिलाई पहिलो पटक रु. ३ हजार, दोस्रो पटक रु. ५ हजार र तेस्रो पटक रु. ७ हजार जरिवाना तोकिएको छ। पर्वलाई व्यवस्थित बनाउन महाकाली नगरपालिका–८ स्थित नेपाल–भारत जोड्ने मोटरेबल पुलभन्दा माथिल्लो क्षेत्रदेखि महाकाली नगरपालिका–७ को थालिगाड बजार क्षेत्रसम्मलाई चार किल्ला निर्धारण गरिएको छ।

उक्त क्षेत्रभित्र मदिरा सेवन गरी हो–हल्ला गर्ने, गौरा पर्वको वातावरण बिथोल्ने तथा मदिरा बिक्री–वितरण गर्ने कार्यमा संलग्न व्यक्तिलाई समितिको निर्णयअनुसार कारबाही गरिने समितिका सदस्य विशाल सिंह रैखोलाले जानकारी दिए ।

जरिवानाबाट संकलन हुने रकम हालको बाढी तथा विपद्को अवस्थालाई मध्यनजर गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णयसमेत समितिले गरेको जनाएको छ। यस वर्ष गौरा पर्व विशेष गरि भदौ १९, २० र २१ विविध कार्यक्रम गरि मनाइने समितिले जनाएको छ ।

गौरा पर्वलाई मर्यादित, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न स्थानीयवासी, युवा तथा सम्पूर्ण सरोकारवालालाई सहयोग गरिदिन समितिले आग्रह समेत गरेको छ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *