दार्चुला : भारतको पिथौरागढमा नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न भएको छ। सोमवार बैठकमा पिथौरागढ जिल्ला प्रशासनसँगै नेपालका सीमावर्ती जिल्ला दार्चुला र बैतडीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो। बैठकमा पिथौरागढका जिल्ला अधिकारी आशीष भटगांई, बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्याल र दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले सीमा क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा धारणा तथा सुझाव प्रस्तुत गरेका थिए। बैठकमा सीमा सुरक्षा, सुरक्षा निकाय बीच समन्वय, सूचना आदानप्रदान, तस्करी तथा आपराधिक गतिविधि नियन्त्रण र विपद् व्यवस्थापन लगायतका विषयमा छलफल भएको थियो। दुवै देशका सुरक्षा निकाय, प्रहरी, सशस्त्र प्रहरी, अध्यागमन/भन्सार तथा सम्बन्धित निकायबीच सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने सहमति भएको छ।
सीमामा हुने शंकास्पद गतिविधिको तत्काल जानकारी गराउने तथा सीमापार आवतजावत गर्ने व्यक्तिको परिचय र कागजात जाँचमा समन्वय गर्ने विषयमा पनि जोड दिइएको छ। त्यस्तै, लागुऔषध, अवैध सामग्री तथा वन पैदावारको तस्करी नियन्त्रणका लागि दुवै देशका सम्बन्धित निकायबीच सहकार्य बढाउने सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्त राज पौडेलले जानकारी दिए । बाढी, पहिरो, भूकम्पलगायत प्राकृतिक विपद्का समयमा तत्काल सूचना आदानप्रदान गर्दै आवश्यक सहयोग र समन्वय गर्ने विषयमा पनि बैठकमा छलफल भएको उनले बताए । यस्तै नेपाल- भारत जोड्ने झोलुंगे पुलहरूको सुरक्षा, नियमित अनुगमन तथा मर्मतसम्भारका विषयमा समेत दुवै पक्षले आवश्यक समन्वय गर्ने सहमति गरेका छन्। बैठकको अन्त्यमा भारत र नेपालबीच सीमा क्षेत्रमा आपसी समन्वय तथा सहकार्यलाई थप प्रभावकारी बनाउने र आगामी दिनमा पनि नियमित रूपमा समन्वय बैठक आयोजना गर्ने सहमति भएको जनाइएको छ। बैठकमा पिथौरागढका प्रहरी अधीक्षक अक्षय प्रहलाद कोंडे, प्रभागीय वनाधिकारी आदित्य रत्न, अपर जिलाधिकारी योगेन्द्र सिंह लगायत दुवै देशका सम्बन्धित अधिकारीहरूको सहभागिता रहेको थियो।
यो खबर तपाईंलाई कस्तो लाग्यो?

