दार्चुला : दार्चुलामा आप्रवासी स्रोत केन्द्र (सहायता कक्ष) स्थापना गरिएको छ । वैदेशिक रोजगारलाई सुरक्षित बनाउन सूचना, परामर्श तथा सहजीकरणका लागि आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको हो । शुक्रवार एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले आप्रवासी स्रोत केन्द्रको उद्घाटन गरे ।
सामाजिक विकास मन्त्रालयद्वारा सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को सहयोगमा आप्रवासी स्रोत केन्द्र सञ्चालनमा ल्याइएको हो । आप्रवासी स्रोत केन्द्रले सुरक्षित वैदेशिक रोजगारीका लागि जानकारी दिने, वैदेशिक रोजगारीमा जान आवश्यक पर्ने कागजपत्रको बारेमा जानकारी तथा परामर्श दिने र सहजीकरण गर्ने लगायतका काम गर्ने सामी कार्यक्रम सहयोग एकाई सुदूरपश्चिम प्रदेशका व्यवस्थापक पञ्च राम चौधरीले जानकारी दिए ।
आप्रवासी स्रोत केन्द्रको उद्घाटन गर्दै राज्यमन्त्री खड्काले वैदेशिक रोजगारीका विषयमा जानकारी नहुँदा कतिपय नागरिक ठगिएको भन्दै स्रोत केन्द्रले सुरक्षित वैदेशिक रोजगारीमा सहयोग पुग्ने बताए । यस्तै दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञ राज जोशीले जिल्ला प्रशासनको कार्यालय भित्रै स्थापना गरिएको स्रोत केन्द्रले वैदेशिक रोजगारीमा जाने तयारीका युवालाई वैदेशिक रोजगारीमा जाँदा अपनाउनुपर्ने सुरक्षासम्बन्धी परामर्श, सावधानी तथा निःशुल्क तालिमका लागि सिफारिस र अप्ठ्यारोमा परेकालाई कानूनी सहायताका लागि सहज हुने बताए ।
शुक्रवार दार्चुलामा सुरक्षित आप्रवासन सामी कार्यक्रमको सेवा प्रवाह सम्बन्धी छलफल गरिनुका साथै त्यस सम्बन्धमा जानकारी गराइएको छ । जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडूको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिकाका रोजगार संयोजक, सुरक्षा निकायका प्रमुख लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?