नेपाल टेलिकमको सेवा महिनौदेखि अवरुद्ध, समस्या समाधानका लागि ज्ञापन

नेपाल टेलिकमको सेवा महिनौदेखि अवरुद्ध, समस्या समाधानका लागि ज्ञापन

दार्चुला : नेपाल टेलिकमको सेवा जिल्लाका विभिन्न ठाउँमा अवरुद्ध हुने र गुणस्तरीय नहुने समस्या छ ।जिल्लाको महाकाली नगरपालिका–८ अन्तर्गत धौकोट, काँकडा, डाँडा, इजर, गोधरा, चौरा, दोपखे, थामुलगायतका बस्तीमा नेपाल टेलिकमको सेवा लामो समयदेखि अवरुद्ध छ । त्यहाँ मोबाइल फोन सेवा अवरुद्ध भएको र अत्यन्त कमजोर बनेपछि स्थानीयवासीले सेवा सुधारको माग गरेका छन् ।

शुक्रवार वडा नम्बर ८ का स्थानीयहरूले नेपाल टेलिकम कार्यालय दार्चुलालाई ज्ञापनपत्र बुझाउँदै टेलिकम टावरमा देखिएको प्राविधिक समस्या सुल्झाउन माग गरेका हुन् । आपतकालीन अवस्थामा समेत सञ्चार सम्पर्क गर्न समस्या भएको भन्दै स्थानीयहरुले सम्बन्धित टावरको तत्काल प्राविधिक निरीक्षण गरी आवश्यक मर्मत, स्तरोन्नति वा वैकल्पिक व्यवस्था मिलाउन माग गरेका छन्।

साथै फोन तथा इन्टरनेट सेवाको गुणस्तर सुधार गर्न, सेवा अवरुद्ध हुने कारणबारे स्थानीयलाई जानकारी गराउन र भविष्यमा यस्ता समस्या दोहोरिन नदिन आवश्यक व्यवस्थापन गर्न माग गर्न ज्ञापनमार्फत आग्रह गरेका हुन् ।

स्थानीयहरुको भेटमा टेलिकम दार्चुलाका प्रमुख कृष्ण बहादुर गुरुङले त्यहाँ प्राविधिक समस्या देखिएको र २ जी र ४ जी सेवा वरपरका ठाउँमा टिप्ने गरि केन्द्रिय कार्यालयमा जानकारी गराइएको बताए । सेवा केही दिनमा सुधार हुने उनले बताए ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला समितिले पनि जिल्लाभर दूरसञ्चार तथा इन्टरनेट सेवाको गुणस्तर कमजोर रहेको भन्दै सुधारका लागि ज्ञापनपत्र बुझाएको छ।

समस्या समाधानका लागि रास्वपाले जिल्लाभर रहेका नेपाल टेलिकमका टावरहरूको प्राविधिक परीक्षण गरी आवश्यक मर्मतसम्भार तत्काल गर्न, कमजोर नेटवर्क भएका क्षेत्रमा थप टावर स्थापना तथा क्षमता विस्तार गर्न, फोन र इन्टरनेट सेवाको गुणस्तर सुधार गरी स्थिर र भरपर्दो सेवा सुनिश्चित गर्न तथा विद्युत् आपूर्ति अवरुद्ध हुँदा पनि सेवा सञ्चालन हुने गरी आवश्यक ब्याकअप प्रणालीको व्यवस्था गर्न माग गरेको छ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *