दार्चुला : अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा दार्चुला भन्सार कार्यालयले जिल्ला अस्पताल दार्चुलाका बिरामीलाई फलफूल र महेन्द्र माविको छात्राबासमा रहेका अनाथ बालबालिकालाई झोला वितरण गरेको छ । शनिवार जिल्ला अस्पताल दार्चुलामा भर्ना भएका १४ जना बिरामीहरुलाई फलफूल र महेन्द्र माविको छात्राबासमा रहेका २० जना अनाथ बालबालिकालाई झोला वितरण गरिएको दार्चुला भन्सार कार्यालयका प्रमुख दिनेश धामीले जानकारी दिए ।


७४औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा शनिवार महेन्द्र माविका प्रधानाध्यापक दामोदर जोशीको उपस्थितिमा गल्फैस्थित छात्राबासमा रहेका अनाथ बालबालिकालाई बिहानीको नास्ता सँगै झोला वितरण गरिएको तथा आजै जिल्ला अस्पताल दार्चुलाका निमित्त मेसु डाक्टर रविन्द्र भट्राईको उपस्थितिमा बिरामीहरुलाई फलफूल वितरण गरिएको उनले बताए ।


दिवसकै अवसरमा शुक्रवार भन्सार कार्यालय परिसरमा सरसफाई गरिएको थियो । यस्तै माघ १२ गते विश्व भन्सार दिवसको दिन जिल्लास्थित सरोकारवालाहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरिने जनाइएको छ । हरेक वर्षको जनवरी २६ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।
७४औं अन्तर्राष्ट्रिय भन्सार दिवसको नारा “Customs Protecting Society Through vigilance and Commitment” अर्थात सुरक्षा तथा प्रतिवद्धतामार्फत समाजको संरक्षण गर्दै भन्सार भन्ने रहेको छ ।


यो खबर तपाईंलाई कस्तो लाग्यो?

