दार्चुला : महाकाली नगरपालिका–४ बाङ्गाबगरमा राति आफ्नै घरमा सुतिरहेकी ३५ वर्षीया कविता बोहरामाथि निर्घात कुटपिट गरिएको छ । साउन २९ गते बिहान साढे ४ बजेको समयमा दुहु गाउँपालिका-४ पोक्सेकि जिल्ला सदरमुकाम खलंगा बस्ने सोही उमेर समूहकी धौली भनेर चिनिने गीता कुँवरले निर्घात कुटपिट गरेकी हुन् । बोहराका आमाबुबा व्याँस गाउँपालिका–१ छाङ्गरु गएको मौका पारेर घरमा एक्लै रहेको र सुतेको अवस्थामा कुँवरले टिमुरको लठ्ठीले टाउँको, अनुहार र खुट्टामा अन्धाधुन्ध प्रहार गरेकी थिइन्। बोहरालाई मरणासन्न हुने गरि कुटपिट गरेपछि कुँवरले घरमा रहेको सुनको तिलहरी, अङ्गुठी र माग थालि समेत लुटेर लगेकी पीडित बोहराकी आमा सुकमती बोहराले बताए ।
गम्भीर घाइते बोहरा आक्रमणपछि आफैं स्थानीय मेडिकल पुगेकी थिइन्, जहाँ उनको टाउकोमा टाका लगाइएको थियो। पछि जिल्ला अस्पताल दार्चुला हुँदै थप उपचारका लागि उनलाई भारतको पिथौरागढस्थित अस्पताल लगिएको छ। उनको शरीरमा २४ वटा टाका लागेको परिवारले जनाएको छ ।
विशेष कुरा त के छ भने, आरोपी कुँवर बाल्यकालमा ४/५ वर्ष तिनै कविताको घरमा बसेकी थिइन् र बोहरा परिवारले नै उनको लालनपालन गरेका थिए। करिब १४–१५ वर्षपछि एक्कासि घरमा पुगेकी कुँवरले त्यो रात सङ्गै सुतेर घटना घटाएकी हुन् । घटनामा कविताको सुत्ने कोठा रक्ताम्य बनेको थियो भने पछि उम्केर भाग्न सफल भएकी थिइन् ।
घटनापछि पीडित पक्षकोतर्फबाट आइतबार जिल्ला प्रहरी कार्यालय दार्चुलामा निबेदन दिइएको छ। प्रहरीले घटनाको अनुसन्धान सुरु गर्नुका साथै फरार कुँवरको खोजी भइरहेको जनाएको छ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?

