५ जना प्रायोजित बालबालिकालाई २ महिने एडभान्स सिलाई–कटाई तालिम

५ जना प्रायोजित बालबालिकालाई २ महिने एडभान्स सिलाई–कटाई तालिम

दार्चुला : जिल्लाका पाँच जना प्रायोजित बालबालिकालाई २ महिने एडभान्स सिलाई कटाई सीप विकास तालिम प्रदान गरिएको छ । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सामुदायिक ग्रामीण विकास समाज नेपाल दार्चुलाद्वारा सञ्चालित ‘एकीकृत सामुदायिक विकास परियोजनाको सामाजिक–आर्थिक क्षेत्रअन्तर्गत ५ जना प्रायोजित बालबालिकाहरूलाई दुई महिने एडभान्स सिलाई–कटाई सीप विकास तालिम प्रदान गरिएको हो ।

बालबालिकाहरूमा व्यावसायिक सीप आर्जन गराई सिलाई–कटाईलाई आम्दानीको माध्यम र व्यवसायका रूपमा अगाडि बढाउन सघाउने उद्देश्यले यो तालिम सञ्चालन गरिएको एकीकृत सामुदायिक परियोजनाका परियोजना अधिकृत मनोरथ जोशीले जानकारी दिए ।
तालिम जिल्लाका दुई ठाउँमा सञ्चालन गरिएको थियो । जिल्लाको महाकाली नगरपालिका–४ खलंगामा २०८३ जेठ २७ गतेदेखि साउन २७ गतेसम्म सञ्चालित तालिममा ३ जना प्रायोजित बालबालिकाको सहभागिता रहेको थियो । उक्त तालिमको सहजीकरण चम्पा कुँवरले गर्नुभएको थियो ।

यस्तै मालिकार्जुन गाउँपालिका–३, मडमा २०८३ जेठ २५ देखि साउन २५ गतेसम्म सञ्चालित २ महिने तालिममा २ जना प्रायोजित बालबालिका सहभागी थिए । यस क्षेत्रको तालिम सहजीकरण लक्ष्मी धामीले गर्नुभएको थियो ।

यी दुई क्षेत्रमा सञ्चालन गरिएको तालिममा ५ जनाले कपडा कटिङ, सिलाई, तुरपाई, कपडा प्रेस गर्ने सीपका साथै सिलाई मेसिनको सामान्य मर्मत–सम्भार गर्नेसम्मका व्यावहारिक ज्ञान हासिल गरी सक्षम भएका छन् । तालिमपश्चात् सिकेको सीपलाई व्यवहारमा उतारेर आत्मनिर्भर बन्न सकून् भन्ने उद्धेश्यले तालिमका प्रत्येक सहभागीलाई १/१ थान सिलाई मेसिन, १/१ थान आइरन र १/१ थान कैँची समेत सहयोग स्वरूप हस्तान्तरण गरिएको परियोजना अधिकृत जोशीले बताए ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *