शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच छलफल जारी

काठमाडौँ : आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच छलफल सुरु भएको छ । सिंहदरबार परिसरमा महासंघका प्रतिनिधिहरूसँग मन्त्रालयले छलफल सुरु गरेको हो ।

शिक्षा मन्त्रालयका सूचना अधिकारी उपसचिव नीलकण्ठ ढकालका अनुसार छलफलमा शिक्षामन्त्री विद्या भट्टराई, शिक्षा सचिव दीपक काफ्ले सहित ४ जना र महासंघका तर्फबाट सहअध्यक्ष नानुमाया पराजुलीसहित ४ जना सहभागी छन् । छलफलले शिक्षकको आन्दोलन र आगामी दिनमा कसरी अघि बढ्ने भन्ने कुराको निर्क्यौल हुने सूचना अधिकारी ढकालले बताए ।

महासंघका अध्यक्ष लक्ष्मणकिशोर सुवेदीले भने आफूहरूले आफ्ना एजेन्डा बुझाएको बताए । उनले भने– वार्ता भएको होइन, हाम्रो तर्फबाट एजेन्डा बुझाएका हौँ । शिक्षकहरू २० चैतदेखि सडक आन्दोलनमा छन् भने सोमबारदेखि देशव्यापी शैक्षिक हडताल घोषणा गरेका छन् । सरकारले २१ र २६ चैतमा विज्ञप्तिमार्फत र २२ चैतमा पत्र लेखेर शिक्षकहरूलाई वार्तामा बोलाएको थियो ।

तर विगतमा भएका सहमति मन्त्रिपरिषद्बाट अनुमोदन र विद्यालय शिक्षा ऐन जारी गर्ने सुनिश्चिततासहितको प्रतिबद्धता सरकारी निकायबाट आए मात्र वार्तामा बस्ने भन्दै महासंघले विज्ञप्ति नै जारी गरेको थियो । अहिले पनि वार्ता र सहमति गर्नेभन्दा पनि विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने आफ्नो मुख्य माग रहेको महासंघले जनाएको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *